पाल्पा सिमेन्टको आईपीओ आजदेखि खुला, ४५ लाख कित्तामा सर्वसाधारणको आवेदन

एक महिना अगाडि
पाल्पा सिमेन्टको आईपीओ आजदेखि खुला, ४५ लाख कित्तामा सर्वसाधारणको आवेदन

काठमाडौं १२ फागुन । पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारण समूहअन्तर्गत कुल ४५ लाख कित्ता साधारण सेयर निष्कासनमा ल्याएको हो।

निष्कासित सेयरमध्ये २ लाख ८१ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि तथा २ लाख ८१ हजार २५० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ। बाँकी सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

आईपीओमा आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत दिन सकिनेछ। साथै ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइन आवेदनको सुविधा पनि उपलब्ध रहेको छ।

कम्पनीका अनुसार आईपीओ छिटोमा फागुन १५ गते बन्द हुनेछ। सो अवधिमा पूर्ण आवेदन नपरेमा भने ढिलोमा फागुन २६ गतेसम्म खुला रहनेछ।

यस निष्कासनको बिक्री प्रबन्धकका रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। कम्पनीले गत पुस ९ गते बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो।

स्वीकृतिअनुसार पहिलो चरणमा पुस २५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ जारी गरिसकिएको छ। दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि आजदेखि आवेदन खुला गरिएको हो।