बसन्तपुरमा चीर ठड्याइयो, औपचारिक रूपमा सुरु भयो होली उत्सव

एक महिना अगाडि
बसन्तपुरमा चीर ठड्याइयो, औपचारिक रूपमा सुरु भयो होली उत्सव

काठमाडौं १२ फागुन । काठमाडौंको बसन्तपुर दरबार क्षेत्रमा मंगलबार बिहान रङ्गीचङ्गी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएसँगै यस वर्षको होली पर्व औपचारिक रूपमा सुरु भएको छ।

परम्पराअनुसार फागुन शुक्ल अष्टमीका दिन हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याएपछि देशभर फागु अर्थात् होली सुरु भएको मानिन्छ। सोही परम्परा अनुसार मानन्धर समुदायले मंगलबार बिहान विधिपूर्वक चीर ठड्याएका हुन्।

चीर ठड्याएपछि उपस्थित समुदायका सदस्यहरूले एकअर्कालाई अबिर दलेर पर्वको शुभारम्भको संकेत दिएका थिए। बसन्तपुर क्षेत्रमा उत्साहजनक माहोल देखिएको थियो। आजै पशुपतिनाथ मन्दिर परिसर, हनुमानढोका दरबारको सुन्दरीचोक तथा पाटन दरबार क्षेत्रस्थित कृष्ण मन्दिर परिसरमा पनि रङ्गीचङ्गी कपडाका टुक्रा झुण्ड्याएर होली सुरु भएको जनाउ दिने परम्परा निर्वाह गरिएको छ।

यस वर्ष होलीको मुख्य दिन फागुन १८ र १९ गते परेको छ। फागुन १८ गते हिमाली तथा पहाडी जिल्लामा र १९ गते तराईका जिल्लामा सार्वजनिक बिदा दिइएको छ। बसन्तपुरमा चीर ठड्याउने अवसरमा नेपाली सेनाको टोलीले मंगलधुन बजाउनुका साथै बन्दुक पड्काएर हर्षबढाइँ गरेको थियो। कार्यक्रम अवलोकन गर्न स्थानीयवासी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।