काठमाडौं १२ फागुन । अमेरिकाको भर्जिनिया राज्यअन्तर्गत फेयरफ्याक्स काउन्टीमा आफ्नै परिवारका सदस्यमाथि घातक आक्रमण गरिरहेका एक नेपाली नागरिक प्रहरीको गोलीबाट मृत्यु भएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार सोमबार बिहान मान्टुआ नजिकै पर्सिमोन ड्राइभस्थित एक अपार्टमेन्टमा करिब ५० वर्षका छत्रबहादुर थापाले आफ्नी श्रीमती र छोरीमाथि धारिलो हतियार प्रहार गरेका थिए। गम्भीर घाइते भएका दुवैजनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ। घटनामा उनका ज्वाइँ सन्तोषकुमार थापामाथि पनि आक्रमण भएको थियो।
फेयरफ्याक्स काउन्टीका प्रहरी प्रमुख केभिन डेभिसका अनुसार प्रहरी घटनास्थलमा पुग्दा संदिग्ध व्यक्ति ज्वाइँमाथि पुनः आक्रमण गरिरहेका थिए। हतियार भुइँमा फाल्न पटक–पटक चेतावनी दिँदा पनि नमानेपछि एक प्रहरी अधिकारीले गोली चलाएका थिए। गोली लागेपछि उनलाई तत्काल प्राथमिक उपचार दिने प्रयास गरिए पनि घटनास्थलमै मृत घोषणा गरिएको प्रहरीले जनाएको छ।
घटनास्थलबाट करिब १० इन्च लामो मासु काट्ने हतियारजस्तो देखिने घुमाउरो खुँडा बरामद गरिएको छ। अपार्टमेन्टभित्र एक वर्षको बालक सुरक्षित अवस्थामा फेला परेको र बाल संरक्षण सेवाको जिम्मा लगाइएको जानकारी प्रहरीले दिएको छ।
प्रहरीका अनुसार उक्त घरमा यसअघि घरेलु हिंसासम्बन्धी कुनै उजुरी वा प्रहरी बोलाइएको रेकर्ड थिएन। घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ।
स्थानीय प्रशासनले प्रहरीको शरीरमा जडान गरिएको क्यामेराको दृश्यको समीक्षा गर्दा थप मानवीय क्षति रोक्न आवश्यक बल प्रयोग गरिएको देखिएको जनाएको छ। घटना सम्बन्धी थप विवरण सार्वजनिक हुने क्रम जारी रहेको छ।