माइक विवादमा रवि-देवराज आमनेसामने, घिमिरेको कडा खण्डन

एक महिना अगाडि
माइक विवादमा रवि-देवराज आमनेसामने, घिमिरेको कडा खण्डन

काठमाडौं १२ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले निवर्तमान सभामुख देवराज घिमिरेमाथि जनताको आवाज उठाउँदा माइक काट्ने गरेको आरोप लगाएपछि दुवै नेताबीच सार्वजनिक आरोप–प्रत्यारोप सुरु भएको छ। झापामा आयोजित एक कार्यक्रममा बोल्दै लामिछानेले “जनताको आवाज उठाउँदा माइक काट्ने निवर्तमान सभामुख कुन मुख लिएर भोट माग्दै हुनुहुन्छरु भन्दै प्रश्न गरेका थिए।

लामिछानेको उक्त अभिव्यक्तिपछि घिमिरेले प्रेस विज्ञप्ति जारी गर्दै आरोपको खण्डन गरेका छन्। उनले बिर्तामोडमा आफूविरुद्ध घृणा फैलाउने प्रयास गरिएको उल्लेख गर्दै लोकतान्त्रिक प्रतिस्पर्धामा व्यक्तिगत आरोप र विभाजनकारी अभिव्यक्तिले दीर्घकालीन प्रभाव नपार्ने बताएका छन्।

घिमिरेले संसद्मा प्रत्येक सदस्यलाई अभिव्यक्ति दिने अधिकार रहेको स्पष्ट पार्दै समय व्यवस्थापन संसदीय नियमावलीअनुसार हुने बताए। माइक काट्ने वा काटिने विषय सभामुखको व्यक्तिगत चाहनाले होइन, पूर्वनिर्धारित समयसीमा र नियमअनुसार हुन्छ,उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

उनले संसद्को वेबसाइटमा अभिलेख हेर्न सकिने भन्दै सभामुख मात्र नभई उपसभामुख वा बैठकको अध्यक्षता गरिरहेका अन्य सदस्यका समयमा पनि माइक काटिएको उदाहरण रहेको दाबी गरेका छन्।

लामिछानेप्रति कटाक्ष गर्दै घिमिरेले सांसद पदमा बहाल रहन कानुनी आधारसम्बन्धी प्रश्नसमेत उठाएका छन्। साथै, आफूविरुद्ध अफवाह र घृणा फैलाउन नहुने भन्दै संयमता अपनाउन आग्रह गरेका छन्।

घिमिरे हाल झापा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्। उनी विघटित प्रतिनिधिसभामा सभामुखको जिम्मेवारीमा रहेका थिए।