काठमाडौं १२ फागुन । नागरिक उन्मुक्ति पार्टी नेपालका तर्फबाट कैलाली–५ का उम्मेदवार जगन्नाथ चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेका छन्। चौधरीले आफूले उठाउँदै आएका सुशासन, समावेशिता र विकासका एजेन्डा रास्वपाका उम्मेदवार आनन्द चन्दसँग मेल खाएकाले उनलाई समर्थन गर्न उम्मेदवारी स्थगित गर्दै रास्वपा प्रवेश गरेको बताएका छन्।
प्रवेश कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य लक्ष्मण थारू, नेताहरू हरि रेग्मी र जशु भट्टसहित उम्मेदवार चन्दले चौधरीलाई पार्टीमा स्वागत गरेका थिए।
कार्यक्रममा बोल्दै चौधरीले भने, मेरो एजेन्डा सुशासन, समावेशिता र विकास थियो। जुन रास्वपाका उम्मेदवारको पनि रहेको छ। परिवर्तनका लागि हामी एक ठाउँमा आउन जरुरी ठानेर आफ्नो उम्मेदवारी स्थगित गरेको हुँ।
उम्मेदवार आनन्द चन्दले चौधरीजस्तो परिपक्व नेतृत्व पार्टीका लागि आवश्यक रहेको उल्लेख गर्दै उनको आगमनले रास्वपा थप सुदृढ भएको प्रतिक्रिया दिएका छन्। चौधरी यसअघि सम्पन्न निर्वाचनमा प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका थिए। कैलाली–५ मा उनको रास्वपा प्रवेशसँगै राजनीतिक समीकरणमा नयाँ मोड आएको विश्लेषण गरिएको छ।