काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले देउवा सरकारमा सहभागी हुने मन्त्रीहरुको टुङ्गो लगाएको छ । स्रोतका अनुसार अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट मन्त्री बनाउन नेताहरुको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् ।
स्रोतका अनुसार ५ जनाको नाम सिफारिस गरिएको छ । विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम श्रेष्ठको नाम देउवालाई बुझाइसकेको स्रोतको दावी छ । नेकपा एसबाट खतिवडाले नेतृत्व गर्ने चर्चा छ । तर मन्त्रीहरुको नाम सिफारिस भएको विषयमा आफूलाई औपचारिक जानकारी नआएको खतिवडाले बताए ।
कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको अढाई महिना भइसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । सत्ता गठबन्धन दलहरुबीच राजनीतिक दलसम्बन्धी अध्यादेशमा किचलो हुँदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो । प्रधानमन्त्री देउवाले एक दुई दिनभित्रै मन्त्रिपरिषद विस्तार गर्ने कांग्रेस नेता रमेश लेखकले जानकारी दिएका छन् ।