वीरगञ्जमा हैजा संक्रमण फैलिने कारणको आशंका स् ११ ठाउँबाट पानीको नमुना संकलन

३ महिना अगाडि
वीरगञ्जमा हैजा संक्रमण फैलिने कारणको आशंका स् ११ ठाउँबाट पानीको नमुना संकलन

काठमाडौं ८ भदौ । वीरगञ्जमा हैजाको संक्रमण फैलिनुमा खानेपानी पाइपमा ढल मिसिएको हुन सक्ने आशंका गरिएको छ। सोही आशंकाका आधारमा प्रभावित क्षेत्रका ११ स्थानबाट पानीको नमूना संकलन गरी परीक्षणका लागि काठमाडौंको टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइएको छ।

खानेपानी, सिँचाइ तथा सरसफाइ मन्त्री प्रदीप यादवले हैजा प्रभावित क्षेत्रमा निरीक्षणका क्रममा भने, “खानेपानीको पाइपमा दूषित पानी मिसिएको हुन सक्छ, जसले गर्दा वीरगञ्जका स्थानीयमा हैजाको प्रकोप देखिएको हुन सक्छ।उनका अनुसार नमुनाको रिपोर्ट आज आउनेछ, जसपछि मात्र संक्रमणको यकिन कारण पुष्टि गर्न सकिनेछ।

स्कूल दुई दिनका लागि बन्द

हैजाको संक्रमण समुदायस्तरमै फैलिन थालेपछि,वीरगञ्ज महानगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयहरू आइतबार र सोमबार २ दिनका लागि बन्द गरिएको छ।महानगरको शैक्षिक प्रशासन महाशाखाको निर्देशनमा शिक्षण संस्था बन्द गरिएको हो।

४२ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु

जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरका अनुसार, शनिबार रातिसम्म वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४२ जनामा हैजा संक्रमण पुष्टि भइसकेको छ। हालसम्म १२९ जना बिरामी विभिन्न अस्पतालमा उपचाररत छन्।

संक्रमण मुख्य रूपमा वीरगञ्ज महानगरपालिका वडा नं११, १२, १३ र १६ मा फैलिएको छ।शुक्रबार रातिदेखि मुर्ली टोलका स्थानीयमा लक्षण देखिएपछि स्वास्थ्यकर्मीको टोली खटाइएको थियो।२ जना बिरामीको मृत्यु भएको पुष्टि गरिएको छ — एक जना पोखरिया नगरपालिका–९ की महिला र एक जना वीरगञ्ज महानगरपालिका–१२ का पुरुष।
हालसम्म यी मृत्युको स्पष्ट कारण पुष्टि भइनसकेको भए पनि झाडापखलाको लक्षण देखिएको परिवारजनले बताएका छन्।

१० वर्षपछिको पहिलो प्रकोप

स्वास्थ्य अधिकारीहरुका अनुसार, पर्सा जिल्लामा पछिल्लो १० वर्षयता पहिलो पटक हैजाको महामारी देखिएको हो।हैजा भिब्रियो कोलरी नामक जीवाणुबाट हुने संक्रमण हो, जुन दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गर्छ।यस रोगका लक्षणमा निरन्तर झाडापखाला, वान्ता, पेट दुख्ने, ज्वरो आउने, शरीरमा पानीको कमी लगायतका समस्या देखिन्छन्। समयमा उपचार नपाए मृत्युसमेत हुनसक्छ।

ठाकुरले भने, २८ साउनदेखि मुरली क्षेत्रमा झाडापखालाका बिरामी देखिन थालेका थिए। संख्या क्रमशः बढ्दै गयो, आरडीटी परीक्षण गर्दा हैजा पुष्टि भयो। यो अवस्था महामारीकै हो। वीरगञ्जमा फैलिएको हैजाको संक्रमणलाई नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालय, खानेपानी विभाग, स्थानीय प्रशासन र शैक्षिक निकायहरू सक्रिय भएका छन्।पानीको नमुना परीक्षण रिपोर्ट आज आउने भएकाले संक्रमणको मुख्य स्रोत यकिन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। संक्रमण नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।