काठमाडौं १२ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले मुलुक अब विकास निर्माणको युगमा प्रवेश गरेको दाबी गर्दै प्रमुख प्रतिपक्षी दलका नेतामाथि कटाक्ष गरेका छन्।
धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले निर्माण व्यवसायीहरू आत्तिन नपर्ने बताएका छन्। निर्माण व्यवसायीहरू आत्तिनुपर्दैन। अब देश विकास निर्माणको बाटोमा अगाडि बढ्यो, उनले भने, बाँध्ने भनेको कानुनले बाँध्ने हो, डोरीले बाँध्ने होइन। कानुनअनुसार काम गरे कसैले केही गर्दैन।
उनको यो अभिव्यक्ति केही दिनअघि सोही पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन०ले सडक निर्माणमा ढिलासुस्ती गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको प्रसंगसँग जोडिएको छ।
यसैक्रममा लामिछानेले गगन थापाप्रति व्यंग्य गर्दै २० वर्ष सांसद र मन्त्री भइसकेपछि मात्रै बाटोघाटो बनाउन १२–१५ वटा कानुन फेर्नुपर्ने ज्ञान आएको टिप्पणी गरे। २०–२० वर्ष सांसद र मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउन १२–१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो तपाईंहरूलाई। बल्ल ज्ञान आयो। तपाईंको ज्ञान तपाईंंसँगै राख्नुहोला,उनले भने।
लामिछानेले विकास निर्माणका कामलाई तीव्रता दिइने उल्लेख गर्दै आवश्यक परे दुई वा तीन सिफ्टमा काम गरिने बताए। रात–रात काम हुन्छ। उपकरण पर्याप्त छैनन् भने ल्याउनुस्। अब नेपाल विकास निर्माणको बाटोमा जान्छ, कसैले छेक्न सक्दैन,उनले भने।