काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै फागुन १८ गतेदेखि लागू हुने गरी राति ९ बजेपछि सबै रात्रिकालीन व्यवसाय बन्द गर्न निर्देशन दिएको छ।
कार्यालयद्वारा जारी सूचनाअनुसार होटल, रेस्टुरेन्टलगायत सम्पूर्ण रात्रिकालीन व्यवसाय अर्को आदेश नभएसम्म राति ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ। प्रवक्ता तथा सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा हस्ताक्षरित सूचनामा निर्वाचन सुरक्षालाई प्राथमिकता दिँदै उक्त निर्णय गरिएको उल्लेख छ।
यसैबीच होली पर्वका अवसरमा खुला सडक तथा सार्वजनिक स्थानमा भिडभाड, मेला–महोत्सव, सांगीतिक कार्यक्रम तथा मदिरा बिक्री–वितरण र सेवनमा पनि रोक लगाइएको प्रशासनले जनाएको छ।