रुपन्देही–२ मा राप्रपाभित्रै विवाद

एक महिना अगाडि
रुपन्देही–२ मा राप्रपाभित्रै विवाद

रुपन्देही । रुपन्देही–२ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो उम्मेदवार कायम नभएपछि नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेललाई समर्थन गर्ने घोषणा गरेको छ। क्षेत्रीय अध्यक्ष रामबहादुर थापाले आर्थिक विकास, सामाजिक स्थिरता र समृद्धिका एजेन्डामा सहमति देखिएकाले कांग्रेस उम्मेदवारलाई साथ दिने निर्णय गरिएको जानकारी दिए।

यसअघि राप्रपाले कार्भिका थापालाई उम्मेदवार बनाएको थियो। तर उनले अमेरिकाको स्थायी बसोबाससम्बन्धी अनुमति त्यागेको तीन महिना नपुगेका कारण उम्मेदवारी कायम हुन सकेन। त्यसपछि उत्पन्न परिस्थितिमा क्षेत्रीय तहबाट समर्थनको निर्णय सार्वजनिक गरिएको हो।

तर उक्त निर्णयप्रति जिल्ला नेतृत्वले असहमति जनाएको छ। जिल्ला अध्यक्ष सागरप्रताप राणाले क्षेत्रीय अध्यक्षको नाममा जारी गरिएको विज्ञप्ति पार्टीको आधिकारिक धारणा नभएको दाबी गर्दै समर्थनको निर्णय खारेज गरिएको बताएका छन्। यसले पार्टीभित्र आन्तरिक मतभेद सतहमा आएको संकेत गरेको छ।

रुपन्देही–२ मा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल, नेपाली कम्युनिष्ट पार्टीका विश्वदीप पाण्डे लगायत ३९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। २०७९ सालको निर्वाचनमा राप्रपाले यस क्षेत्रमा समानुपातिकतर्फ ५ हजार ६ सय मत प्राप्त गरेको थियो।