दोहा । खाडी आसपासको क्षेत्रमा पछिल्ला दिनमा विकसित घटनाक्रमले विश्व राजनीति मात्र होइन, लाखौँ नेपालीको दैनिकीसमेत प्रत्यक्ष रूपमा प्रभावित भएको छ। अमेरिका र इजरायलद्वारा इरानमाथि गरिएका हवाइ आक्रमणपछि क्षेत्र तनावग्रस्त बनेको छ। इरानका सर्वोच्च नेता आयोतल्लाह अलि खमेनी मारिएको इरानी सरकारी स्रोतले पुष्टि गरेपछि परिस्थिति अझ जटिल बनेको छ। त्यसयता इरानले पनि जवाफी कारबाही तीव्र पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
इरानमा १० नेपाली रहेको विवरण छ। २ जना फर्किने तयारीमा छन् भने ८ जना सुरक्षित रहेको र सरकारी सम्पर्कमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
तर गैरआधिकारिक रूपमा पुगेका नेपालीको संख्या करिब एक सय आसपास हुनसक्ने अनुमान गैरआवासीय नेपाली संघले गरेको छ। औपचारिक अभिलेखमा नआएका कारण उनीहरूको अवस्थाबारे स्पष्ट विवरण प्राप्त गर्न कठिनाइ भइरहेको छ। उनीहरूलाई सम्पर्कमा ल्याएर आवश्यक परे उद्धार गर्ने तयारी भइरहेको बताइएको छ।
इरानसँगको द्वन्द्व प्रत्यक्ष रूपमा जोडिएको अर्को देश इजरायल हो। इजरायलमा करिब ५ हजार नेपाली केयरगिभरका रूपमा कार्यरत छन्। कृषि क्षेत्रमा समेत उल्लेख्य संख्यामा नेपाली काम गरिरहेका छन्। हालसम्म त्यहाँ रहेका नेपाली सुरक्षित रहेको जानकारी दिइएको भए पनि निरन्तर आक्रमण र प्रतिआक्रमणको खबरले उनीहरूमा चिन्ता बढाएको छ।
खाडी राष्ट्रहरूमा असर
जवाफी कारबाहीको क्रममा इरानले मध्यपूर्वका अमेरिकी सहयोगी राष्ट्रहरू र त्यहाँ रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण तीव्र पारेको समाचारहरू आएका छन्। यसले खाडी क्षेत्रका धेरै देश प्रभावित भएका छन्।
दुबईमा बिहानभर विस्फोटको आवाज सुनिएको र आकाशमा धुवाँ देखिएको विवरण सार्वजनिक भएको छ। व्यवसायिक क्षेत्र बिजनेस बे माथि गरिएको हवाइ अवरोधनपछि खसेको भग्नावशेषका कारण जेबेल अली बन्दरगाह क्षेत्रमा आगलागी भएको अधिकारीहरूले बताएका छन्।
कतारको दोहामा पनि ठूलो विस्फोटको आवाज सुनिएको र केही स्थानमा सीमित क्षति भएको जनाइएको छ। बहराइनमा रातभर दर्जनौँ मिसाइल र ड्रोन आक्रमण अवरोध गरिएको सरकारी सञ्चारमाध्यमले जनाएको छ। राजधानी मानामामा धुवाँ देखिएको दृश्य सार्वजनिक भएका छन्। इराकको उत्तरी सहर एरबिलस्थित विमानस्थल आसपास आगलागी भएको तस्बिरहरू सार्वजनिक भएका छन्। यी सबै घटनाले खाडी क्षेत्रमा बसोबास गर्ने नेपालीहरूमा त्रासको अवस्था सिर्जना गरेको छ।
सरकारी तथ्याङ्कअनुसार १७ लाख २९ हजार २ सय ८८ नेपाली खाडी मुलुकमा रहेका छन् । खाडीका मुलुकमध्ये सबैभन्दा धेरै नेपाली संयुक्त अरब एमिरेट्समा रहेका छन्, जहाँ ७ लाख नेपाली कार्यरत रहेका छन् । कतारमा ३ लाख ५७ हजार ९१३, साउदी अरबमा ३ लाख ८४ हजार ८६५, कुवेतमा १ लाख ७५ हजार, बहराइनमा २८ हजार, ओमानमा २५ हजार, इराकमा ३० हजार, साइप्रसमा १७ हजार,लेबनानमा १ हजार ५ सय र इजिप्टमा ५ सय नेपाली रहेका छन्।
यीमध्ये धेरैजसो निर्माण, सेवा, कृषि, घरेलु कामदार तथा सुरक्षा क्षेत्रमा कार्यरत छन्। क्षेत्रीय अस्थिरताले उनीहरूको रोजगारी, आय र सुरक्षामा प्रत्यक्ष असर पार्न सक्छ।
सुरक्षाको कारण खाडीका विभिन्न अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवरुद्ध भएपछि नेपालबाट हुने धेरै उडान रद्द भएका छन्। सारजहा, दोहा, दुबई, कुवेत, अबुधाबी, कतार र दमामतर्फका उडान प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ती गन्तव्यका उडान अस्थायी रूपमा स्थगित गरिएको छ।
यसले वैदेशिक रोजगारीका लागि जान तयारीमा रहेका नेपाली रोकिएका छन्। कतिपयले मेडिकल, श्रम स्वीकृति र टिकट खर्च गरिसकेका भए पनि यात्रा अनिश्चित बनेको छ।