मंगलबार खण्डग्रास चन्द्रग्रहण लाग्ने

एक महिना अगाडि
मंगलबार खण्डग्रास चन्द्रग्रहण लाग्ने

काठमाडौं । नेपालमा मंगलबार बेलुकी खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणको स्पर्श दिउँसो ३ बजेर ३४ मिनेटमा हुने भए पनि नेपालबाट भने चन्द्रोदयपछि मात्र ग्रहण देखिनेछ।

समितिका अध्यक्ष शम्भुप्रसाद ढकालका अनुसार चन्द्रग्रहण स्पर्श हुँदा खग्रास अवस्था भए पनि नेपालमा चन्द्रमा उदाउँदा करिब आधा भाग ढाकिएको (ग्रस्तोदित खण्डग्रास) अवस्थामा देखिनेछ। बेलुकी ६ बजेर ३ मिनेटमा चन्द्रोदय हुँदा नै ग्रहण लागेको चन्द्रमा देखिने र बेलुकी ७ बजेर २ मिनेटमा ग्रहण समाप्त हुने समितिले जनाएको छ। यसरी नेपालबाट करिब एक घण्टा चन्द्रग्रहण अवलोकन गर्न सकिनेछ।

खण्डग्रास चन्द्रग्रहणमा पृथ्वीले सूर्य र चन्द्रमाबीच पर्दा चन्द्रमाको केही भाग मात्र पृथ्वीको छायाँमा पर्छ। यस्तो ग्रहण पूर्णिमाको दिन मात्र लाग्ने खगोलीय नियम छ। सूर्यग्रहण भने औँसी तिथिमा लाग्ने गर्दछ।

समितिका अनुसार यो यस वर्ष नेपालबाट देखिने दोस्रो ग्रहण हो। यसअघि गत भदौ २२ गते खग्रास चन्द्रग्रहण लागेको थियो।

धार्मिक विश्वासअनुसार ग्रहण अवधिभर पूजा–पाठ, जप, ध्यान गर्न शुभ मानिन्छ भने ग्रहण सकिएपछि स्नान गरी शुद्धिकरण गर्ने परम्परा छ। गर्भवती महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई विशेष सावधानी अपनाउन समेत सुझाव दिइन्छ।

खगोलविद्हरूका अनुसार चन्द्रग्रहण नांगो आँखाले हेर्न सकिने सुरक्षित खगोलीय घटना हो। तर मौसम प्रतिकूल भए अवलोकनमा अवरोध आउन सक्ने भएकाले खुला आकाश भएको स्थानबाट हेर्न सिफारिस गरिएको छ।