मौनअवधि सुरु हुनुअघि कांग्रेसले के भन्यो ?

एक महिना अगाडि
मौनअवधि सुरु हुनुअघि कांग्रेसले के भन्यो ?

काठमाडौं । नेपाली कांग्रेसले मतदाताहरूलाई विवेक प्रयोग गरेर योग्य, इमान्दार र सक्षम उम्मेदवार छनोट गर्न अपिल गरेको छ । निर्वाचनको मुखमा सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता देवराज चालिसेले लोकतान्त्रिक अभ्यासको मूल शक्ति मतदाता भएकाले भावनाभन्दा विवेक र दीर्घकालीन हितलाई प्राथमिकता दिन आग्रह गरे ।

उनले प्रत्येक मतलाई “देशको भविष्य निर्माण गर्ने शक्तिशाली औजार” का रूपमा व्याख्या गर्दै एक मतले समृद्ध, न्यायपूर्ण र समावेशी नेपालको आधार तयार गर्न सक्ने बताए। भ्रष्टाचारमुक्त शासन, सुशासनको सुदृढीकरण, राष्ट्रियता र लोकतन्त्रको संरक्षण जस्ता मुद्दा यस निर्वाचनको केन्द्रमा रहेको उनले उल्लेख गरे ।

प्रवक्ता चालिसेले पार्टीको चुनावी अभियान सकारात्मक र घरदैलो केन्द्रित रहेको दाबी गरे। उनका अनुसार विभिन्न राजनीतिक दल परित्याग गरी पाँच हजार आठ सयभन्दा बढी नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन्, जसले पार्टीको संगठनात्मक आधार थप बलियो भएको संकेत गर्छ ।

त्यस्तै, कांग्रेसले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरेको दाबी गर्दै अन्य दलबाट भएका उल्लङ्घनका घटनाप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराएको जनाएको छ । केही स्थानमा आर्थिक प्रलोभन, जिन्सी सामग्री वितरण तथा प्रभाव पार्ने गतिविधि भइरहेको उल्लेख गर्दै उनले सरकार र आयोगलाई निष्पक्ष तथा कडाइका साथ भूमिका निर्वाह गर्न आग्रह गरे ।

पत्रकार सम्मेलनमार्फत कांग्रेसले निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र विश्वसनीय बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने सन्देश दिएको छ । अन्तिम निर्णय मतदाताको हातमा रहेको उल्लेख गर्दै पार्टीले “विवेकपूर्ण निर्णय नै लोकतन्त्रको सुदृढीकरणको आधार” हुने निष्कर्ष प्रस्तुत गरेको छ ।