ललितपुरको कुपण्डोलमा आगलागी

एक महिना अगाडि
ललितपुरको कुपण्डोलमा आगलागी

ललितपुर । ललितपुरको कुपण्डोलस्थित व्यस्त व्यावसायिक क्षेत्रमा रहेको दाउरा थकाली रेस्टुरेन्टमा मंगलबार दिउँसो आगलागी भएको छ। दिउँसो करिब ४ बजेतिर सुरु भएको आगो केही समयपछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आगलागीको खबर पाएलगत्तै प्रहरी, दमकल र स्थानीयवासी घटनास्थल पुगेका थिए । ललितपुर महानगरपालिकाका साथै काठमाडौं महानगरपालिकाबाट समेत दमकल परिचालन गरिएको थियो । केही समयको प्रयासपछि आगो नियन्त्रणमा ल्याइएको हो ।

आगलागी हुँदा रेस्टुरेन्टभित्र रहेका कर्मचारी तथा ग्राहकलाई तत्काल बाहिर निकालिएको थियो । भौतिक क्षतिको पूर्णविवरण संकलन भइरहेको छ । भान्सा भाग र भित्री संरचनामा क्षति पुगेको अनुमान गरिएको छ। आगलागीका कारण कुपण्डोल क्षेत्रको मुख्य सडकमा केहीबेर सवारी आवागमन प्रभावित भएको थियो। सुरक्षाकर्मीले क्षेत्रलाई घेरा हालेर सवारी साधन डाइभर्ट गरेका थिए। आगो नियन्त्रण पछि भने यातायात सहज भएको थियो । 

कुपण्डोल क्षेत्र घना व्यापारिक तथा आवासीय संरचना भएको ठाउँ भएकाले समयमै आगो नियन्त्रणमा नआएको भए ठूलो क्षति हुन सक्ने स्थानीयले बताएका छन्। अहिले घटनास्थलमा सुरक्षा निगरानी बढाइएको छ र क्षतिको यकिन विवरण तयार पार्ने काम भइरहेको छ।