प्रतिनिधिसभा निर्वाचन तयारी पूरा, सुरक्षा संयन्त्र उच्च सतर्कतामा

एक महिना अगाडि
प्रतिनिधिसभा निर्वाचन तयारी पूरा, सुरक्षा संयन्त्र उच्च सतर्कतामा

 

काठमाडौं । फागुन २१ गते बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारले सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ। गृह मन्त्रालयले बुधबार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल बैठक गरी सुरक्षा तथा व्यवस्थापकीय पक्षको समीक्षा गरेको हो।

गृहसचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा करिब तीन घण्टा चलेको बैठकमा सबै जिल्लाबाट मतदान सामग्री सम्बन्धित केन्द्रमा सुरक्षित रूपमा पुगिसकेको र सुरक्षा अवस्था सामान्य रहेको जानकारी दिइएको सह–प्रवक्ता रमा आचार्यले बताइन्।

बैठकमा संवेदनशील क्षेत्रको अवस्था, शान्ति सुरक्षाको समग्र मूल्याङ्कन र केन्द्र–जिल्ला समन्वयका विषयमा विस्तृत छलफल भएको थियो। गृहसचिव श्रेष्ठले मतदानको दिन कुनै अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था अझ प्रभावकारी बनाउन निर्देशन दिएका छन्।