मध्यपूर्व तनाव

अमेरिका इरान तनाव : २४ घन्टामै १ खर्ब नेपाली रुपैयाँ खर्च

एक महिना अगाडि
अमेरिका इरान तनाव : २४ घन्टामै १ खर्ब नेपाली रुपैयाँ खर्च

काठमाडौं । इरानसँग बढ्दो सैन्य तनावका बीच अमेरिकाले सुरुवाती २४ घन्टामै करिब ७७ करोड ९० लाख अमेरिकी डलर खर्च गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । नेपाली रुपैयाँमा यो रकम झण्डै एक खर्ब रुपैयाँ हाराहारी पर्न जान्छ ।

आक्रमणअघिको तयारीका लागि मात्रै करिब ६३ करोड डलर खर्चिएको बताइएको छ । युद्धक विमान बोकेको अमेरिकी युद्धपोत सञ्चालनमा जाँदा दैनिक करिब ६५ लाख डलर खर्च हुने अनुमान गरिएको छ । प्रारम्भिक विश्लेषणअनुसार युद्ध एक महिनासम्म लम्बिएमा खर्च ५० अर्ब डलरभन्दा बढी पुग्न सक्ने आँकलन गरिएको छ ।

विश्वमै सबैभन्दा ठूलो रक्षा बजेट
स्वीडेनस्थित स्टकहोम अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्था (सिप्री) को सन् २०२४ को प्रतिवेदनअनुसार विश्वको कुल सैन्य खर्च करिब २.७ ट्रिलियन (२ हजार ७ सय अर्ब) डलर पुगेको छ, जुन अहिलेसम्मकै उच्च स्तर हो।

मुख्य रक्षा खर्च गर्ने देशहरू :

अमेरिका – करिब ९९७ अर्ब डलर
चीन – करिब ३१४ अर्ब डलर
रूस – करिब १४९ अर्ब डलर
भारत – करिब ८६ अर्ब डलर
साउदी अरब – करिब ८० अर्ब डलर

अमेरिका एक्लैले विश्व सैन्य खर्चको झण्डै ३७ प्रतिशत हिस्सा ओगटेको छ ।

अफगानिस्तान युद्ध का क्रममा अमेरिकाले करिब २० वर्षमा २ ट्रिलियन डलरभन्दा बढी खर्च गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्। लामो युद्धले अमेरिकी अर्थतन्त्रमा ठूलो वित्तीय दबाब सिर्जना गरेको थियो।

विश्लेषकहरूका अनुसार यदि इरानसँगको तनाव दीर्घकालीन युद्धमा रूपान्तरण भयो भने मासिक दशौं अर्ब डलर खर्च हुन सक्छ, जसले संघीय बजेट घाटा र सार्वजनिक ऋणमा थप भार पार्न सक्छ ।

इरान वरिपरिका देशहरू — साउदी अरब, संयुक्त अरब इमिरेट्स, ओमान र बहराइन — मा रहेका अमेरिकी सैन्य अड्डाहरूको सुरक्षाका लागि छुट्टै खर्च आवश्यक पर्नेछ। यसले कुल युद्ध खर्च अझ बढाउने देखिन्छ।

अमेरिका विश्वकै सबैभन्दा ठूलो रक्षा बजेट भएको देश भएकाले प्रारम्भिक सैन्य कारबाही धान्न सक्षम देखिए पनि, युद्ध लम्बिँदै गएमा खर्चको दबाब उल्लेखनीय रूपमा बढ्नेछ। इरानसँगको बढ्दो तनावले केवल क्षेत्रीय सुरक्षा सन्तुलन मात्र होइन, वैश्विक अर्थतन्त्रमा समेत प्रभाव पार्ने संकेत देखिएको छ।