काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत देशभर आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई ले देशभरका मतदान केन्द्रमा निर्वाध रूपमा मतदान प्रारम्भ भएको जानकारी दिएका छन्।
मतदाताले अपराह्न ५ बजेसम्म मतदान गर्न पाउनेछन् । आयोगका अनुसार मतदाता परिचयपत्रसँगै नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतिपत्र, राहदानी वा लालपुर्जा देखाएर पनि मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।
मतदान केन्द्रमा महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था छ । अपांगता भएका व्यक्ति, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, सुत्केरी तथा गर्भवती महिलालाई प्राथमिकता दिइनेछ र लाइनमा बस्नुपर्ने छैन ।
निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन् । तीमध्ये ३ हजार ६८० केन्द्र अति संवेदनशील, ४ हजार ४४२ संवेदनशील र २ हजार ८४५ सामान्य मतदान केन्द्रका रूपमा वर्गीकरण गरिएको छ । साथै १४३ अस्थायी मतदान स्थलसमेत सञ्चालनमा छन् ।
निर्वाचन सुरक्षार्थ ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, १ हजार ९२१ राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी तथा १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी परिचालित छन् । मतदान व्यवस्थापनका लागि २ लाख १५ हजार सरकारी कर्मचारी खटिएका छन्।