नयाँ–पुरानो होइन, सही–गलतको बहस गरौं : प्रचण्ड

एक महिना अगाडि
नयाँ–पुरानो होइन, सही–गलतको बहस गरौं : प्रचण्ड

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले ‘नयाँ र पुराना’ भन्ने राजनीतिक भाष्य देश र लोकतन्त्रको हितमा नभएको बताएका छन्।

चितवन–३ अन्तर्गत भरतपुर–१४ स्थित प्रहरी स्कुल मतदान केन्द्रमा मत खसालेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले राजनीतिक प्रतिस्पर्धा ‘नयाँ–पुरानो’ होइन, ‘सही–गलत’ का आधारमा हुनुपर्नेमा जोड दिए।

“नयाँ र पुराना भन्ने जो भाष्य बनाइएको छ, यो देशको हितमा छैन,” उनले भने, “नयाँ र पुराना होइन, सही र गलत भन्ने भाष्य बनाउनु पर्‍यो।”

दलका योजना र कार्यक्रमका आधारमा मूल्यांकन हुनुपर्ने उल्लेख गर्दै प्रचण्डले मतदातालाई विचार, नीति र कार्ययोजनालाई आधार बनाएर निर्णय गर्न आग्रह गरे। “कसको योजना के, कार्यक्रम के भनेर हेर्नुपर्छ। त्यसको आधारमा नयाँ–पुरानो भन्ने हुने हो,” उनले भने।

उनले राष्ट्र, जनता, लोकतन्त्र र प्रगतिका पक्षमा उभिने शक्तिलाई समर्थन गर्न मतदातासँग अपिल गर्दै सबैलाई विवेक प्रयोग गरेर सहीको पक्षमा उभिन आग्रह गरे।