काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बिहीबार बिहान ७ बजेदेखि देशभर मतदान भइरहेको छ। निर्वाचन आयोग ले हालसम्म अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा मतदान चलिरहेको जनाएको छ। विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले आ–आफ्नो मतदान केन्द्रमा पुगेर मत हालिरहेका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले चितवन–३ अन्तर्गत भरतपुर–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर केन्द्रबाट मतदान गरे। उनी यसपटक रुकुम पूर्वबाट उम्मेदवार छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले काठमाडौं–३ को महांकालचौर मतदान केन्द्रमा मत खसाले। उनी चितवन–२ बाट उम्मेदवार छन्। सोही क्षेत्रमा उज्यालो नेपाल पार्टी का अध्यक्ष कुलमान घिसिङ ले बौद्ध, महांकालस्थित जनकल्याण माध्यमिक विद्यालय केन्द्रबाट मतदान गरेका छन्।
नेकपाका सहसंयोजक माधवकुमार नेपाल ले रौतहट–१ अन्तर्गत जानकी प्रावि केन्द्रमा मतदान गरे। दाङ–२ का उम्मेदवार शंकर पोखरेल ले जनता विद्यापीठ, बिजौरी केन्द्रबाट पहिलो मत खसाले ।
नेपाली कांग्रेस का उपसभापति विश्वप्रकाश शर्मा ले झापा–१, मेचीनगर–९ स्थित कविशिरोमणि मावि केन्द्रमा मतदान गरे। उनी यस निर्वाचनमा उम्मेदवार भने छैनन् । रास्वपाका वरिष्ठ नेता तथा झापा–५ का उम्मेदवार बालेन्द्र शाह ले काठमाडौंको सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुल केन्द्रबाट मतदान गरेका छन्।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ ले रोल्पाको परिवर्तन नगरपालिका–३ थुनिकोट केन्द्रमा मत खसाले। उनी उम्मेदवार छैनन्।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेल ले रुपन्देही–२ अन्तर्गत बुटवल–८, मिलनचोक केन्द्रमा मतदान गरे। एमाले उपमहासचिव योगेश भट्टराई ले ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ सांघुस्थित नारायणी मावि ‘ख’ केन्द्रबाट मतदान गरेका छन्।
नेकपाका नेता वर्षमान पुन ले रोल्पा नगरपालिकास्थित बालउदय मावि केन्द्रमा मत खसाले। उनी रोल्पाबाट उम्मेदवार छन्। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता तथा रुकुम पश्चिमका उम्मेदवार जनार्दन शर्मा ले मुसिकोट–स्थित यमुनानन्द माध्यमिक विद्यालय केन्द्रमा मतदान गरेका छन्।