दाङका तीन मतदान केन्द्रमा अझै मत खसेन

एक महिना अगाडि
दाङका तीन मतदान केन्द्रमा अझै मत खसेन

दाङ । दाङ जिल्लाका तीन मतदान केन्द्रमा अझैसम्म एक मत पनि खस्न सकेको छैन।
लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बबई गाउँपालिका–१ को जिल्ला मतदान केन्द्र (६८६ मतदाता) र बबई गाउँपालिका–७ को मलैखोला मतदान केन्द्र (५३० मतदाता) मा अहिलेसम्म मतदान सुरु हुन सकेको छैन। यस्तै दंगीशरण गाउँपालिका–१ स्थित कौवाघारी ‘ख’ मतदान केन्द्रमा पनि ७५६ मतदाता भए पनि मत खस्न सकेको छैन।

निर्वाचनका लागि मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मीको टोली भने फागुन १८ गते नै ती क्षेत्रमा पुगेर तयारी पूरा गरिसकेको थियो। तर बिहान करिब ११:४५ बजेसम्म कुनै पनि मतदाता मतदानका लागि केन्द्रमा नआएको जनाइएको छ।

स्थानीय बासिन्दाले बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जंगली जनावरको आतंक बढेकाले आफूहरूलाई सुरक्षित स्थानमा बसोबासको व्यवस्था गर्नुपर्ने माग गर्दै आएका छन्। सो माग पूरा नभएको भन्दै यसपटक सामूहिक रूपमा मतदानमा सहभागी नहुने निर्णय गरिएको स्थानीयको भनाइ छ । 
दंगीशरण गाउँपालिका–१ मा रहेको कौवाघारी ‘क’ मतदान केन्द्रमा भने मतदान भइरहेको छ, तर सोही स्थानको ‘ख’ केन्द्रमा अझै मत खस्न सकेको छैन।

जिल्लामा रहेका दुई अस्थायी केन्द्रसहित ४८४ मतदान केन्द्रमध्ये बाँकी ४८१ केन्द्रमा भने शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन कार्यालयले जनाएको छ।