काठमाडौं । आज सम्पन्न भएको मतदानमा झन्डै ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रारम्भिक विवरणअनुसार करिब ६० प्रतिशत मतदाताले मतदान गरेको जानकारी दिएका छन्। उनले सबै क्षेत्रबाट तथ्यांक संकलन भइरहेको भन्दै अन्तिम विवरण भने पछि मात्र सार्वजनिक हुने बताए।
कतिपय मतदान केन्द्रमा भने केही नागरिकले मत नहाल्ने अडान लिएका कारण मतदान हुन सकेन। केही स्थानमा मतदाता उपस्थित नभएका कारण मत खस्न सकेन।
यस निर्वाचनका लागि कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता दर्ता भएका थिए। तीमध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला तथा २ सय जना अन्य मतदाता रहेका छन्।