काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि बिहीबार सम्पन्न निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले अधिकांश क्षेत्रमा अग्रता कायम गरेका छन्।
निर्वाचन आयोगका अनुसार देशभर ५५ निर्वाचन क्षेत्रको मतगणना भइरहेका मध्ये ४४ क्षेत्रमा रास्वपाका उम्मेदवार अगाडि छन्।
काठमाडौंका विभिन्न क्षेत्रमा पनि रास्वपाले बलियो प्रदर्शन गरेको देखिएको छ। काठमाडौं क्षेत्र नं. ६ मा शिशिर खनाल, काठमाडौं क्षेत्र नं. ७ मा गणेश पराजुली र काठमाडौं क्षेत्र नं. ८ मा विराजभक्त श्रेष्ठ फराकिलो मतान्तरसहित अग्रता कायम गरेका छन्।
यसैगरी पार्टी सभापति रवि लामिछाने उम्मेदवार रहेको चितवन क्षेत्र नं. २ मा पनि उनी प्रतिस्पर्धी उम्मेदवारभन्दा अगाडि छन्। पार्टीका उपसभापति स्वर्णिम वाग्ले पनि तनहुँ क्षेत्र नं. १ मा अग्रस्थानमा रहेका छन्।
त्यस्तै चितवन क्षेत्र नं. ३ मा सोविता गौतम र ललितपुर क्षेत्र नं. ३ मा तोषिमा कार्कीले पनि अग्रता बनाएका छन्।
यसैबीच अघिल्लो निर्वाचनमा चितवन क्षेत्र नं. १ बाट विजयी भएका हरि ढकाल भने हालसम्म पछि परेका छन्। उक्त क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवारले अग्रता बनाएका छन्।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्ने निर्वाचन आयोगले जनाएको छ।