काठमाडौं–१ मा रञ्जु दर्शनाको जित, रास्वपाको खाता खुल्यो

एक महिना अगाडि
काठमाडौं–१ मा रञ्जु दर्शनाको जित, रास्वपाको खाता खुल्यो

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो जित हासिल गरेको छ। काठमाडौं क्षेत्र नं. १ बाट रास्वपाकी उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) विजयी भएसँगै पार्टीको जितको खाता खुलेको हो।

बिहीबार सम्पन्न निर्वाचनमा रञ्जुले १५ हजार ४५५ मत प्राप्त गर्दै विजय हासिल गरिन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत प्राप्त गरे। राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्र ३ हजार ९७२ मतसहित तेस्रो स्थानमा रहे।

युवापुस्ताको वैकल्पिक राजनीतिको आवाजका रूपमा चिनिएकी रञ्जुको राजनीतिक यात्रा पनि निकै रोचक छ। १७ वर्षको उमेरमै उनले विवेकशील नेपाली पार्टीमा आवद्ध हुँदै सक्रिय राजनीति सुरु गरेकी थिइन्।

२०७२ सालको महाभूकम्पपछि राहत तथा पुनर्स्थापनाका काममा सक्रिय रहँदै उनी सामाजिक कार्यमा पनि जोडिइन्। भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै अनसन बसेका गोविन्द केसीलाई सहयोग गर्ने अभियानमा पनि उनी सक्रिय देखिएकी थिइन्।

२०७४ सालको स्थानीय तह निर्वाचनमा उनले काठमाडौं महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिँदा उनी युवा पुस्तामाझ चर्चित बनिन्। त्यतिबेला उनी करिब २२ वर्षकी थिइन्।

पछि विवेकशीलभित्र आन्तरिक विवाद बढेपछि २०७८ सालमा उनले पार्टी छाडिन् र केही समय स्वतन्त्र रूपमा सक्रिय रहिन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनले काठमाडौं क्षेत्र नं. ५ बाट ‘सेलरोटी’ चुनाव चिह्न लिएर उम्मेदवारी दिएकी थिइन्, तर त्यसबेला उनले करिब ६०० मत मात्र प्राप्त गरेकी थिइन्।

त्यसपछि २०८१ सालमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्दै पार्टीको केन्द्रीय सदस्य बनेकी थिइन्। सोही पार्टीबाट यसपटक काठमाडौं–१ बाट उम्मेदवार बनेकी रञ्जुले उल्लेख्य मतान्तरसहित प्रतिनिधिसभामा प्रवेश गर्न सफल भएकी छन्।

काठमाडौंको मैतीदेवी क्षेत्रकी स्थायी बासिन्दा रञ्जुले स्नातक तहसम्म अध्ययन गरेकी छन्। युवा उमेरमै सुरु भएको उनको राजनीतिक यात्रा अब संघीय संसदसम्म पुगेको छ।