काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनअन्तर्गत देशभरका विभिन्न स्थानमा मतगणना जारी रहेको छ। १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म ११३ क्षेत्रको मतगणनाको विवरण प्राप्त भएको छ।
त्यसमध्ये दुई निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। काठमाडौं क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु न्यौपाने (दर्शना) निर्वाचित भएकी छन् भने मुस्ताङबाट नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन्।
बाँकी १११ निर्वाचन क्षेत्रमा जारी मतगणनाको प्रारम्भिक विवरणअनुसार रास्वपाले ८६ क्षेत्रमा अग्रता बनाएको छ। त्यस्तै कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले समान ८/८ क्षेत्रमा अग्रता कायम गरेका छन् ।
यसैगरी नेपाल कम्युनिष्ट पार्टीले ७ क्षेत्रमा अग्रता लिएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीले १/१ स्थानमा अग्रता बनाएका छन्।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्ने निर्वाचन आयोगले जनाएको छ।