काठमाडौँ २१ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टीमा नयाँ र चर्चित व्यक्तित्वहरूलाई स्वागत गर्न सकिने तर मूल नेतृत्वको रूपमा आयात गर्न नहुने स्पष्ट धारणा अघि सारेको छ। चितवनको सौराहामा जारी पार्टीको विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा यो कुरा जोड दिइएको हो।
हाल कुलमान घिसिङलगायतका लोकप्रिय व्यक्तित्वहरूलाई पार्टीमा भित्र्याउने सम्भावनाबारे आन्तरिक तहमा छलफल भइरहेको सन्दर्भमा अर्यालले “चर्चित व्यक्ति भित्र्याउने नाममा मूल नेतृत्व आयात गर्न नसकिने” बताउँदै पार्टीको नेतृत्व निरन्तरता आवश्यक रहेको उल्लेख गरे। उनका अनुसार पार्टी सुधार ‘रिफर्म’ को नाममा शीर्ष नेतृत्व विस्थापन गर्न खोज्ने प्रवृत्ति स्वीकार्य हुन सक्दैन।
अर्यालले सभापति रवि लामिछानेकै नेतृत्वमा पार्टी अघि बढ्नु जरुरी रहेको र हालको नेतृत्वलाई “विस्थापित होइन, स्थापित गर्नुपर्ने समय” भएको औंल्याए। उनका भनाइमा, “रास्वपा अहिले ४० महिनाको बामे सर्दै गरेको पार्टी हो। हामी गर्दै र सिक्दैछौं, सुधार र पुनर्संरचनाको प्रक्रियाबाट अघि बढ्दैछौं।” उनले पार्टीले विधान, संगठनात्मक संरचना र जिम्मेवारी हेरफेरका माध्यमबाट निरन्तर सुधारको अभ्यास गरिरहेको बताए।
राजनीतिक प्रतिवेदनमा अर्यालले पार्टीभित्र उठिरहेको ‘रिफर्म’ सम्बन्धी आवाजलाई स्वागत गरे पनि त्यसको उद्देश्य स्पष्ट हुनुपर्नेमा जोड दिएका छन्। उनका अनुसार ‘रिफर्म’ नीति, विचार र मूल्य–मान्यतामा आधारित हुनुपर्छ, केवल पद व्यवस्थापनका लागि होइन। उनले चेतावनी दिँदै भने, ‘रिफर्म’ को नाममा प्रतिगमन हुन सक्छ, त्यसैले आग्रह र व्यक्तिगत महत्वकांक्षा बिना खुला छलफल आवश्यक छ।”
अर्यालले पार्टीभित्रको कुनै पनि संरचनात्मक परिवर्तन विधानको दायराभित्रै गर्नुपर्ने बताए। उनले स्मरण गराए, “विधान विपरीत परिवर्तन सम्भव छैन। यदि पदाधिकारी हेरफेर वा नयाँ जिम्मेवारी बाँडफाँटको कुरा हो भने छलफल गरौं, तर नेतृत्व परिवर्तन चाहिँ महाधिवेशनको विषय हो।”
उनका अनुसार विस्तारित बैठकले संरचनात्मक फेरबदल गर्ने अधिकार राख्दैन, तर सुधारबारे गहिरो बहस गर्न सक्ने प्लेटफर्म हो। उनले पार्टीभित्र खुला संवाद र सामूहिक नेतृत्वको अभ्यासलाई नै रास्वपाको विशेषता बताउँदै भने, “हामी सबै अपूर्ण छौं, त्यसैले सामूहिकता नै हाम्रो बल हो।”
प्रतिवेदनमा निष्कर्ष निकालिएको छ कि रास्वपा अहिले पुनर्संरचनाको चरणमा रहे पनि पुराना पार्टीहरूझैँ पूरै भत्काएर नयाँ बनाउने अवस्थाले होइन, क्रमिक सुधार र आत्ममूल्यांकनबाट अघि बढ्ने बाटो रोज्नुपर्छ। अर्यालले अन्त्यमा भने, “पार्टीको सुधार ‘व्यक्तिगत महत्त्वकांक्षा’ का लागि होइन, संस्थागत सुदृढीकरणका लागि हुनुपर्छ।”