काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नं. ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका छन्।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार खनालले २७ हजार ७११ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६४७ मत प्राप्त गरेका छन्।
खनाल यसअघि पनि संघीय संसद सदस्य रहिसकेका छन् भने शिक्षा क्षेत्रको सुधारका लागि काम गरेको भन्दै उनको चर्चा हुने गरेको थियो। उनले केही समय शिक्षा मन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए। शिक्षा सुधार, नीति निर्माण र विद्यालय व्यवस्थापन सुधारका विषयमा सक्रिय भूमिका खेलेको भन्दै उनी परिचित छन्।
यसपटकको निर्वाचनमा उनले उल्लेख्य मतान्तरसहित विजय हासिल गर्दै पुनः प्रतिनिधिसभामा स्थान सुरक्षित गरेका हुन्। निर्वाचन अधिकृतको कार्यालयले अन्तिम मतपरिणाम सार्वजनिक गर्दै उनको विजय औपचारिक रूपमा घोषणा गरेको छ।