रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता

एक महिना अगाडि
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता

रुकुम पूर्व । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रुकुम पूर्व बाट नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन्। यससँगै नेकपाले पनि प्रतिनिधिसभा निर्वाचनमा आफ्नो जितको खाता खोलेको छ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार प्रचण्डले १०,२४० मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लिलामणी गौतमले ३ हजार ४६२ मत प्राप्त गरेका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्ड यसअघि पनि विभिन्न निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै आएका छन्। यसअघि गोरखा-२ बाट निर्वाचित भएका थिए । त्यसअघि २०७४ मा चितवन-३ बाट जितेका प्रचण्ड यसपटक भने उनले रुकुम पूर्वबाट उम्मेदवारी दिएका थिए।

रुकुम पूर्वलाई वामपन्थी आन्दोलनको आधार क्षेत्रका रूपमा पनि लिने गरिन्छ । यही क्षेत्रमा उनले उल्लेख्य मतान्तरसहित जित हासिल गर्दै संघीय संसदमा पुनः प्रवेश गरेका हुन् ।