मनाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मनाङ बाट नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन्। यससँगै कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा अर्को जित हात पारेको छ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार गुरुङले २ हजार ४१५ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनकी निकटतम् प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टीकी यशोदा गुरुङ (सुवेदी)ले ४५४ मत प्राप्त गरेकी छन्।
गुरुङ यसअघि पनि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए। उनी संघीय सरकारमा श्रम तथा रोजगार मन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका नेता हुन्।
हिमाली जिल्ला मनाङमा सीमित मतदाता भए पनि यहाँको निर्वाचनलाई विशेष चासोका साथ हेरिने गरिन्छ। गुरुङले उल्लेख्य मतान्तरसहित पुनः जित हासिल गर्दै प्रतिनिधिसभामा आफ्नो स्थान कायम राखेका छन्।