भक्तपुर–१ मा नेमकिपाको किल्ला भत्कियो, रास्वपाका रुकेश रन्जित विजयी

एक महिना अगाडि
भक्तपुर–१ मा नेमकिपाको किल्ला भत्कियो, रास्वपाका रुकेश रन्जित विजयी

भक्तपुर । लगातार नेपाल मजदुर किसान पार्टी ले जित्दै आएको भक्तपुर क्षेत्र नम्बर १ मा यसपटक किल्ला भत्किएको छ। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी ले जित हात पार्दै नेमकिपाको वर्चस्व तोडेको हो ।

प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत भक्तपुर–१ बाट रुकेश रन्जित विजयी भएका छन् ।

निर्वाचन आयोगका अनुसार रुकेश रन्जित ले प्रेम सुवाल लाई भारी मतान्तरले पराजित गरेका हुन् । रन्जित ३३ हजार ४३६ मतसहित विजयी हुँदा सुवालले २८ हजार १७८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी सो क्षेत्रमा किरण न्यौपाने (नेपाली कांग्रेस) ले ४ हजार २८२, सोमप्रसाद मिश्र (नेकपा एमाले) ले ३ हजार ७२१, भरत खड्का (राष्ट्रिय प्रजातन्त्र पार्टी) ले २ हजार ४७२ र हरिराज लवजु (नेपाल कम्युनिष्ट पार्टी) ले १ हजार १७७ मत प्राप्त गरेका छन्।

यसअघि उक्त क्षेत्र नेपाल मजदुर किसान पार्टी को गढका रूपमा चिनिँदै आएको थियो। अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट प्रेम सुवाल विजयी भएका थिए।