रुपन्देही–२ मा रास्वपाका सुलभ खरेलको ऐतिहासिक जित, एमाले नेता विष्णु पौडेल पराजित

एक महिना अगाडि
रुपन्देही–२ मा रास्वपाका सुलभ खरेलको ऐतिहासिक जित, एमाले नेता विष्णु पौडेल पराजित

रुपन्देही । रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार सुलभ खरेल विजयी भएका छन्।

लामो समयदेखि रुपन्देहीको राजनीतिमा प्रभाव जमाउँदै आएका नेकपा एमाले का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेल लाई पराजित गर्दै खरेलले प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेका हुन्। यससँगै उनी राष्ट्रिय राजनीतिमा नयाँ तर बलियो अनुहारका रूपमा देखिएका छन्।

निर्वाचन परिणामअनुसार सुलभ खरेल ले ५४ हजार ९२७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी विष्णु प्रसाद पौडेल ले १२ हजार ३०२ मत प्राप्त गरे।

त्यसैगरी चुन्न प्रसाद पौडेल (नेपाली कांग्रेस) ले ९ हजार १६ मत प्राप्त गरेका छन्। खरेलले विष्णु पौडेललाई ४२ हजार ६२५ मतान्तरले पछि पारेका छन्।

रुपन्देहीमा २०५६ सालदेखि चुनाव लड्दै आएका विष्णु प्रसाद पौडेल ले २०६४, २०७०, २०७४ र २०७९ सालका निर्वाचनमा लगातार विजय हासिल गरेका थिए। तर यसपटकको प्रतिस्पर्धामा खरेलले सुरुदेखि नै अग्रता कायम राख्दै अन्ततः जित सुनिश्चित गरेका हुन्।

यस क्षेत्रमा कुल ८६ हजार ५३० मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।