काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं उपत्यकाका सबै १५ निर्वाचन क्षेत्रमा सफलता हासिल गरेको छ। राजधानीका लगभग सबै क्षेत्रमा जित निकाल्दै पार्टीले उपत्यकामा आफ्नो प्रभाव बलियो भएको संकेत दिएको छ।
२०७९ सालको निर्वाचनमा चार क्षेत्रमा मात्रै जित निकालेको राष्ट्रिय स्वतन्त्र पार्टी ले यसपटक आफ्नो पकड अझ विस्तार गरेको देखिएको छ ।
मतपरिणामअनुसार काठमाडौं–१ बाट रञ्जु न्यौपाने, काठमाडौं–२ बाट सुनिल केसी, काठमाडौं–३ बाट राजुनाथ पाण्डे, काठमाडौं–४ बाट पुकार बम, काठमाडौं–५ बाट सस्मित पोखरेल, काठमाडौं–६ बाट शिशिर खनाल, काठमाडौं–७ बाट गणेश पराजुली, काठमाडौं–८ बाट विराजभक्त श्रेष्ठ, काठमाडौं–९ बाट डोलप्रसाद अर्याल र काठमाडौं–१० बाट प्रदीप विष्ट निर्वाचित भएका छन्।
२०७९ को निर्वाचनमा भने काठमाडौं–२ बाट सोविता गौतम, काठमाडौं–६ बाट शिशिर खनाल, काठमाडौं–७ बाट गणेश पराजुली र काठमाडौं–८ बाट विराजभक्त श्रेष्ठ विजयी भएका थिए। यसपटक सोविता गौतम भने काठमाडौं–२ छाडेर चितवन–३ बाट उम्मेदवार बनेकी छन्।
त्यसैगरी ललितपुरका तीन वटै क्षेत्रमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी ले जित हात पारेको छ। ललितपुर–१ मा बुद्ध रत्न महर्जन, ललितपुर–२ मा जगदीश खरेल र ललितपुर–३ मा तोसिमा कार्की विजयी भएका छन्।
भक्तपुर क्षेत्र नम्बर १ मा भने नेपाल मजदुर किसान पार्टी का प्रभावशाली नेता प्रेम सुवाल पराजित भएका छन्। यस क्षेत्रमा रुकेश रन्जित विजयी भएका छन्।
राजधानीका अधिकांश क्षेत्रमा विजय हासिल गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी ले काठमाडौं उपत्यकामा आफ्नो राजनीतिक प्रभाव उल्लेखनीय रूपमा विस्तार गरेको विश्लेषण गरिएको छ।