काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठित आयोगले अन्ततः आफ्नो प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको छ। आयोगले आइतबार बिहान ११ बजे प्रतिवेदन हस्तान्तरण गर्ने कार्यक्रम तय भएको जनाइएको छ।
प्रधानमन्त्री सुशीला कार्की का प्रेस सल्लाहकार राम रावल का अनुसार पूर्व न्यायाधीश गौरीबहादुर कार्की को अध्यक्षतामा रहेको छानबिन आयोगले आइतबार प्रतिवेदन बुझाउनेछ। संयोगवश आयोगलाई दिइएको कार्यावधि पनि सोही दिन सकिँदैछ।
सरकारले जेनजी आन्दोलनका घटनाक्रम, त्यसको पृष्ठभूमि तथा त्यसक्रममा भएका गतिविधिहरूको अध्ययन गर्न असोज ५ गते आयोग गठन गरेको थियो। अन्तरिम मन्त्रिपरिषद्को निर्णयअनुसार गठन भएको उक्त आयोगलाई आन्दोलनसँग सम्बन्धित सम्पूर्ण पक्षबारे तथ्य संकलन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको थियो।
यद्यपि प्रारम्भिक समयमा काम सम्पन्न हुन नसकेपछि आयोगलाई थप समय दिइएको थियो। काम अधुरो रहेको भन्दै सरकारले आयोगको म्याद फागुन २४ गतेसम्म बढाएको थियो।
यसबीच जेनजी आन्दोलनका प्रतिनिधिहरू र विभिन्न राजनीतिक दलका नेताहरूले प्रतिवेदन निर्वाचनअघि नै सार्वजनिक गर्नुपर्ने माग गर्दै आएका थिए।
प्रधानमन्त्री सुशीला कार्की ले भने आयोगको प्रतिवेदन प्राप्त भएपछि त्यसका सुझाव र निष्कर्ष कार्यान्वयनतर्फ लैजाने प्रतिबद्धता व्यक्त गर्दै आएकी छन्। अहिले आयोगले प्रतिवेदन बुझाएसँगै आन्दोलनसँग जोडिएका घटनाबारे सरकारी धारणा स्पष्ट हुने अपेक्षा गरिएको छ।