काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ले नेपालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल र शान्तिपूर्ण भएको भन्दै नेपाली जनता तथा सरकारलाई बधाई दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिक्रिया दिँदै उनले निर्वाचन प्रक्रियालाई व्यवस्थित ढंगले सम्पन्न गराइएकोमा खुसी व्यक्त गरेका हुन्। उनले नेपाली नागरिकहरूले लोकतान्त्रिक अधिकार उत्साहका साथ प्रयोग गरेको देख्दा आफूलाई खुशी लागेको बताएका छन्।
मोदीले नेपालमा सम्पन्न निर्वाचनलाई लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण उपलब्धि भन्दै यसको प्रशंसा गरेका छन्। उनका अनुसार यस्तो सहभागिताले नेपालको लोकतान्त्रिक यात्रालाई थप सुदृढ बनाउने संकेत गरेको छ।
साथै उनले आगामी दिनमा नयाँ सरकारसँग सहकार्य गर्न भारत तयार रहेको बताएका छन्। साझा शान्ति, विकास र समृद्धिका लक्ष्यका लागि नेपालसँग मिलेर काम गर्ने प्रतिबद्धता भारतको रहेको उनको भनाइ छ।
भारत नेपालको नजिकको मित्र र छिमेकी राष्ट्र भएकाले दुई देशबीचको सहकार्य भविष्यमा अझ मजबुत हुने विश्वास पनि उनले व्यक्त गरेका छन्।