गगन थापालाई हराउँदै अमरेश सिंह बने राष्ट्रिय राजनीतिका केन्द्रबिन्दु

एक महिना अगाडि
गगन थापालाई हराउँदै अमरेश सिंह बने राष्ट्रिय राजनीतिका केन्द्रबिन्दु

काठमाडौं । जेनजी विद्रोहपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो, संसद् विघटन भयो र नयाँ निर्वाचनका लागि २१ फागुनको मिति घोषणा गरियो। यही राजनीतिक उथलपुथलबीच अमरेशकुमार सिंह ले आफ्नो आगामी राजनीतिक यात्राबारे गम्भीर निर्णय लिन थालेका थिए।

त्यतिबेला नेपाली कांग्रेस भित्र नेतृत्व परिवर्तनको बहस चलिरहेको थियो। तत्कालीन सभापति शेरबहादुर देउवा र वर्तमान सभापति गगन थापा सँग सिंहको सम्बन्ध सहज थिएन। उनी भने कांग्रेसका नेता शेखर कोइराला निकट मानिन्थे।

उही समयको एक भेटमा सिंहले आफ्नो स्पष्ट धारणा राखेका थिए—यदि कांग्रेसको नेतृत्व कोइरालाले सम्हाले भने आफू कांग्रेसबाटै चुनाव लड्ने, अन्यथा ‘घण्टी’ चुनाव चिह्न बोकेको राष्ट्रिय स्वतन्त्र पार्टी बाट उम्मेदवारी दिने।

स्वतन्त्र उम्मेदवारका रूपमा फेरि चुनाव जित्न कठिन हुने आँकलनका कारण उनले दलबाटै टिकट लिने रणनीति बनाएका थिए। तर कांग्रेसभित्र विशेष महाधिवेशन नहुने र अन्ततः गगन थापा सभापति बन्ने अवस्था बनेपछि सिंहले आफ्नो विकल्प परिवर्तन गरे।

यसबीच उनका रवि लामिछाने सँग लगातार भेटघाट भइरहेको थियो। अन्ततः रास्वपाबाट टिकट सुनिश्चित भएपछि उनले कांग्रेससँग उम्मेदवारीका लागि कुनै प्रयास गरेनन् र सोही पार्टीबाट चुनावी मैदानमा उत्रिए।

निर्वाचन परिणामले भने राजनीतिक वृत्तलाई चकित बनायो। सिंहले कांग्रेस सभापति थापालाई फराकिलो मतान्तरले पराजित गर्दै राष्ट्रिय राजनीतिमा नयाँ सन्देश दिएका छन्।

अन्तिम मतपरिणाम अनुसार सिंहले ३५ हजार ६८८ मत प्राप्त गर्दा थापाले २२ हजार ८३१ मत पाए। यससँगै सिंहले १२ हजार ८५७ मतान्तरले थापालाई हराएका हुन्।

चुनावी अभियानका क्रममा उनले करिब १० हजार मतान्तरले जित्ने दाबी गरेका थिए। तर अन्तिम परिणामले त्योभन्दा पनि ठूलो अन्तरले विजय दिलाउँदै सिंहलाई अहिलेको राजनीतिक चर्चाको केन्द्रमा पुर्‍याएको छ।