काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीअन्तर्गत मतगणना तीव्र गतिमा अघि बढिरहेको छ। निर्वाचन आयोग का अनुसार हालसम्म ४४ लाख १ हजार ९३३ मत गणना सम्पन्न भइसकेको छ।
गणना भएको मतअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट अग्रतामा देखिएको छ। रास्वपाले हालसम्म २१ लाख ७२ हजार १९ मत प्राप्त गर्दै कुल गणना भएको मतको करिब ४९.३४ प्रतिशत हिस्सा हात पारेको छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस ले ७ लाख ४२ हजार ९०४ मत प्राप्त गरेको छ, जुन कुल मतको १६.८८ प्रतिशत हो।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ६ लाख ३२ हजार १६२ मत पाउँदै १४.३६ प्रतिशत मत सुरक्षित गरेको छ।
यसैबीच नेपाली कम्युनिस्ट पार्टी ले २ लाख ९४ हजार ९०० मत प्राप्त गरेको छ, जुन ६.७० प्रतिशत हो।
अन्य दलतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी ले १ लाख ५८ हजार ८३० मत (३.६१ प्रतिशत) पाएको छ भने श्रम संस्कृति पार्टी ले १ लाख २ हजार ६६० मत अर्थात् २.३३ प्रतिशत मत प्राप्त गरेको आयोगले जनाएको छ।
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउँदासम्म मतसंख्यामा थप परिवर्तन हुन सक्ने बताइएको छ।