काठमाडौं । आज विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । ‘रेबिज ः तथ्य बुझौँ, त्रसित नबनौँ’ भन्ने नाराका साथ यस वर्षको दिवस मनाउन लागिएको हो ।
नेपालले सन् २०३० सम्ममा रेबिजका कारण हुने मृत्युलाई शून्यमा झार्ने प्रतिबद्धता जनाएको छ । रेबिज एउटा भाइरस हो, यसलाई न्यूरो ट्रोपीक भाइरस भनिन्छ । जङ्गली जनावरको सम्पर्कमा पुगेका कुकुरमा रेबिज लाग्ने र सङ्क्रमित कुकुरले मानिसलाई टोकेपछि यो भाइरस सर्ने गर्छ ।
पछिल्लो समय कुकुरले टोकेर खोप लगाउन आउनेको सङ्ख्या बढ्दै गएको टेकु अस्पतालका निर्देशक डाक्टर अनुप बाँस्तोलाले बताए । कुकुरलगायत पशुपक्षीको टोकाइबाट टेकु अस्पतालमा दैनिक १५० जनासम्म मानिस खोप तथा उपचारका लागि जाने पुग्ने गरेका छन् । रेबिज विरुद्धको खोप सहज उपलब्ध भए पनि ज्यान गुमाउनेको सङ्ख्या घट्न सकेको छैन ।