प्रत्यक्षतर्फ रास्वपाको वर्चस्व, १५४ सिटको परिणाम सार्वजनिक

एक महिना अगाडि
प्रत्यक्षतर्फ रास्वपाको वर्चस्व, १५४ सिटको परिणाम सार्वजनिक

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म १५४ निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ। निर्वाचन आयोग ले सार्वजनिक गरेको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ले अत्यन्तै ठूलो बहुमतसहित अग्रता कायम राखेको छ।

हालसम्म घोषित परिणाममध्ये रास्वपाले १ सय १८ सिट जितिसकेको छ। यति मात्र होइन, थप ७ निर्वाचन क्षेत्रमा पनि उसले अग्रता कायम राखेकाले अन्तिम संख्या अझै बढ्ने संकेत देखिएको छ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस ले हालसम्म १७ सिट जितेको छ। त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ७ सिटमा विजय हासिल गर्दा अन्य ३ क्षेत्रमा अग्रता बनाइरहेको छ।

यसैगरी नेपाल कम्युनिस्ट पार्टी ले पनि ७ सिट जितेको छ भने एक क्षेत्रमा अग्रता लिएको बताइएको छ। जेनजी आन्दोलनपछि गठन भएको श्रम संस्कृति पार्टी ले भने तीन सिट जित्दै विशेषगरी कोशी प्रदेशका पहाडी जिल्लामा आफ्नो राजनीतिक उपस्थितिको संकेत दिएको छ।

अन्य दल तथा उम्मेदवारमध्ये ज्ञानेन्द्र शाही ले जुम्ला जिल्ला बाट राष्ट्रिय प्रजातन्त्र पार्टी का तर्फबाट विजय हासिल गरेका छन्। स्वतन्त्र उम्मेदवारका रूपमा भने महावीर पुन मात्र विजयी भएका छन्।

उता समानुपातिक मतगणनातर्फ पनि रास्वपाले ठूलो अग्रता कायम राखेको छ। हालसम्म उसले २१ लाखभन्दा बढी मत प्राप्त गरिसकेको छ। कांग्रेसले ७ लाखभन्दा बढी मत प्राप्त गर्दा एमालेले ६ लाखभन्दा बढी मत पाएको छ।

त्यस्तै नेकपाले झण्डै ३ लाख मत प्राप्त गरेको छ भने श्रम संस्कृति पार्टीले १ लाखभन्दा बढी मत ल्याएको छ। राप्रपाले करिब डेढ लाख मत पाउँदा जनता समाजवादी पार्टी नेपाल ले करिब ५० हजार मत प्राप्त गरेको छ। अन्य दलमध्ये जनमत पार्टी ले २४ हजारभन्दा बढी र राष्ट्रिय परिवर्तन पार्टी ले ४७ हजारभन्दा बढी मत ल्याएका छन्।