काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनु नेपाली जनता, संविधान र राष्ट्रकै ठूलो उपलब्धि भएको बताएकी छन्।
अन्तर्राष्ट्रिय महिला दिवस का अवसरमा आइतबार सिंहदरबार मा आयोजित कार्यक्रममा बोल्दै उनले असाधारण राजनीतिक परिस्थितिका बीच पनि निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु महत्वपूर्ण उपलब्धि भएको बताइन्।
उनले निर्वाचनले देशलाई लोकतान्त्रिक र संवैधानिक मार्गमा अगाडि बढाउने अवसर दिएको उल्लेख गरिन्। साथै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन योगदान पुर्याउने सबै निकाय र नागरिकप्रति आभार व्यक्त गरिन्।
प्रधानमन्त्री कार्कीले लोकतन्त्रमा मतपत्र केवल कागज नभई नागरिकको सम्मान र अधिकारको प्रतीक भएको उल्लेख गरिन्। उनले जनप्रतिनिधिहरूले प्राप्त जनादेश स्थायी नहुने भएकाले जनताको अपेक्षा पूरा गर्न निरन्तर उत्तरदायी हुनुपर्ने धारणा राखिन्।