काठमाडौं । नेपाल फुटबल खेलाडी संघ ले विभिन्न माग राख्दै अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा तालाबन्दी गरेको छ।
संघले लामो समयदेखि नेपाली फुटबलको समग्र सुधारका लागि विभिन्न माग उठाउँदै आएको जनाएको छ। तर बारम्बार वार्ता र आन्दोलनका कार्यक्रम भए पनि मागहरू सम्बोधन नभएको भन्दै तालाबन्दी गर्न बाध्य भएको संघले जनाएको छ।
संघका अध्यक्ष विक्रम लामा का अनुसार वार्ताका क्रममा एन्फा कार्यसमितिले पटक–पटक शहीद स्मारक ए डिभिजन लिग आयोजना गर्ने आश्वासन दिएको भए पनि ठोस निर्णय नआएकाले आन्दोलनलाई कडा बनाइएको हो।
संघले ए डिभिजन लिगको मिति यथाशीघ्र घोषणा गर्न, खेलाडी अक्षय कोषको विस्तृत विवरण सार्वजनिक गर्न तथा सन् २०१७ यता बाँकी रहेको पुरस्कार र नियमित तलब–भत्ता उपलब्ध गराउन माग गरेको छ।
माग पूरा नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने संघले चेतावनी दिएको छ।