मधेश प्रदेशसभा बैठक आज, सभामुखविरुद्धको प्रस्तावमाथि छलफल हुने

२ हप्ता अगाडि
मधेश प्रदेशसभा बैठक आज, सभामुखविरुद्धको प्रस्तावमाथि छलफल हुने

जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले पदअनुकूल आचरण नगरेको आरोप लगाउँदै दर्ता गरिएको प्रस्तावमाथि आज प्रदेशसभा बैठक बसेर छलफल हुने भएको छ। दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेशसभा सचिवालयले बैठकमा उपस्थितिका लागि प्रदेशसभा सदस्यहरूलाई सामाजिक सञ्जाल समूहमार्फत सूचना पठाएको छ।

गत कात्तिक २७ गते सात दलीय गठबन्धनका ६४ जना प्रदेश सांसदले सभामुख मण्डलविरुद्ध पदअनुकूल आचरण नगरेको भन्दै प्रस्ताव प्रदेशसभामा दर्ता गराएका थिए। कानुनअनुसार दर्ता भएको प्रस्तावमाथि एक साताभित्र सदनमा छलफल गर्नुपर्छ।

उपसभामुख बबिता राउत ईशरको निर्देशनमा आजको बैठक बोलाइएको हो। यसअघि सात दलीय गठबन्धनका ३२ जना प्रदेश सांसदले मंगलबार उपसभामुखको ध्यानाकर्षण गराउँदै बैठक बोलाउन ज्ञापन पत्र बुझाएका थिए।