सिंहदरबार परिसरमा निर्माण भइरहेको नयाँ संघीय संसद् भवनको निर्माण कार्य लगभग अन्तिम चरणमा पुगेको छ। आयोजना पक्षका अनुसार भवनको समग्र भौतिक प्रगति करिब ९४ प्रतिशत सम्पन्न भइसकेको छ। मुख्य संरचनाहरू तयार भइसके पनि प्रतिनिधिसभाको प्रमुख बैठक हल भने तत्काल सञ्चालनमा ल्याउन अझै केही समय लाग्ने देखिएको छ।
सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक तथा आयोजना निर्देशक रोशन श्रेष्ठका अनुसार मुख्य बैठक हलमा फल्स सिलिङ जडान र आधुनिक अडियो–भिडियो प्रणाली स्थापना गर्ने काम अझै बाँकी छ। त्यसैले प्रारम्भिक चरणमा प्रतिनिधिसभाको बैठक भवनभित्रकै वैकल्पिक हलबाट सञ्चालन गर्ने तयारी गरिएको छ।
संसद् सचिवालयका लागि बनाइएका दुई वटा ब्लकको निर्माण पूरा भइसकेको छ र त्यहाँ फर्निचर जडान गर्ने काम सुरु भएको छ। यसका साथै संसदीय दलका कार्यालय, संसदीय समितिका बैठक कक्ष तथा अन्य प्रशासनिक संरचनाहरू पनि लगभग तयार अवस्थामा पुगेका छन्। नयाँ भवन पूर्ण रूपमा सञ्चालनमा आएपछि संघीय संसद्को कामकाज अझ व्यवस्थित हुने अपेक्षा गरिएको छ।