काठमाडौँ उपत्यकामा पछिल्ला दिनमा वायु प्रदूषणको स्तर उल्लेखनीय रूपमा बढेको छ। अन्तर्राष्ट्रिय वायु गुणस्तर मापन संस्था आईक्यू एअरका अनुसार उपत्यकाको वायु गुणस्तर सूचकाङ्क अस्वस्थकर तहमा पुगेको छ। सोमबार १८४ रहेको सूचकाङ्क मंगलबार बिहान बढेर १८८ पुगेको छ।
यस स्तरलाई स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण मानिन्छ। मंगलबार बिहान काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित शहरहरूको सूचीमा चौथो स्थानमा परेको छ। पाकिस्तानको लाहोर पहिलो, भारतको दिल्ली दोस्रो र बङ्गलादेशको ढाका तेस्रो स्थानमा रहेका छन्।
वायु प्रदूषण बढ्नुका मुख्य कारणहरूमा अत्यधिक सवारीसाधनको प्रयोग, देशका विभिन्न स्थानमा फैलिएको डढेलोको धुवाँ तथा लामो समयदेखि वर्षा नहुनु रहेको विज्ञहरूले बताएका छन्। प्रदूषणका कारण आँखामा पोल्ने, घाँटी सुख्खा हुने र श्वासप्रश्वासमा समस्या देखिन सक्ने भएकाले स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिएको छ।