काठमाडौं । नेपाल प्रहरी ले काठमाडौंलगायत देशका प्रमुख सहरमा वायुस्तर चिन्ताजनक रूपमा खस्किएको भन्दै सर्वसाधारणलाई सावधानी अपनाउन सार्वजनिक आग्रह गरेको छ।
प्रहरीले बुधबार सार्वजनिक सूचना जारी गर्दै वायु प्रदूषणका कारण स्वास्थ्यमा असर पर्न सक्ने भएकाले नागरिकलाई सचेत रहन र स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन अनुरोध गरेको हो।
प्रहरीले जारी गरेको ६ बुँदे सुझावमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन, सकेसम्म सवारीसाधनको प्रयोग कम गर्न र समूहमा मिलेर वा एक–अर्कालाई ‘लिफ्ट’ दिएर यात्रा गर्न आग्रह गरिएको छ।
यस्तै, आफ्नो वरिपरि फोहोर वा अन्य वस्तु जलाएर आगो नबाल्न तथा वायु प्रदूषणको स्तर उच्च भएका बेला बाहिरी गतिविधि कम गर्न पनि अनुरोध गरिएको छ।
अविनारायण काफ्ले, नेपाल प्रहरी का प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षकका अनुसार विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरूले थप सावधानी अपनाउन आवश्यक छ।
प्रहरीले यस्तो अवस्थामा बाहिर निस्कनुपरेमा अनिवार्य रूपमा मास्क प्रयोग गर्न र श्वासप्रश्वाससम्बन्धी कुनै समस्या देखिएमा तत्काल नजिकैको अस्पताल, स्वास्थ्य केन्द्र वा चिकित्सकसँग सम्पर्क गर्न पनि आग्रह गरेको छ।