समानुपातिक मतगणना सम्पन्न, रास्वपाले ५७ सिट थप्ने निश्चित

एक महिना अगाडि
समानुपातिक मतगणना सम्पन्न, रास्वपाले ५७ सिट थप्ने निश्चित

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ। निर्वाचन आयोग का सूचना अधिकारी सुमन घिमिरे ले बुधबार समानुपातिकतर्फको सबै मत गणना सकिएको जानकारी दिएका हुन्।

अन्तिम नतिजाअनुसार प्रत्यक्षतर्फ १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी ले समानुपातिकतर्फ ५१ लाख ३९ हजार २३५ मत प्राप्त गरेको छ। उक्त मतका आधारमा रास्वपाले समानुपातिक प्रणालीबाट थप ५७ सिट प्राप्त गर्ने निश्चित भएको आयोगले जनाएको छ।

यसैगरी प्रत्यक्षतर्फ १८ सिट जितेको नेपाली कांग्रेस ले समानुपातिकतर्फ १७ लाख ४९ हजार ५८३ मत पाएको छ। सो मतका आधारमा कांग्रेसले समानुपातिकतर्फबाट करिब २० सिट थप्ने सम्भावना देखिएको छ।

प्रत्यक्षतर्फ ९ सिट जितेको नेकपा एमाले ले समानुपातिकतर्फ १४ लाख ५१ हजार ७५९ मत प्राप्त गरेको छ। उक्त परिणामअनुसार एमालेले समानुपातिकबाट १६ सिट थप्ने निश्चित भएको छ।

त्यस्तै प्रत्यक्षतर्फ ७ सिट जितेको नेपाल कम्युनिस्ट पार्टी ले समानुपातिकतर्फ ८ लाख ९ हजार ७१ मत प्राप्त गरेको छ। यस आधारमा उक्त पार्टीले समानुपातिकबाट थप ९ सिट पाउनेछ।

चार महिना अघि मात्रै स्थापना भएको श्रम संस्कृति पार्टी ले प्रत्यक्षतर्फ ३ सिट जितेको छ भने समानुपातिकतर्फ ३ लाख ८५ हजार ६ सय ८२ मत पाएको छ। यसअनुसार उसले समानुपातिकबाट थप ४ सिट प्राप्त गर्ने निश्चित भएको छ।

यस्तै प्रत्यक्षतर्फ १ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी ले समानुपातिकतर्फ ३ लाख ३० हजार ८२ मत पाएको छ। सो मतका आधारमा राप्रपाले पनि समानुपातिकबाट करिब ४ सिट प्राप्त गर्ने सम्भावना रहेको छ।

निर्वाचन आयोगका अनुसार अब दलहरूले पाएको सदर मतका आधारमा सिट बाँडफाँटको औपचारिक प्रक्रिया अघि बढाइनेछ। सिट संख्या टुंगिएपछि सम्बन्धित दलहरूलाई समानुपातिकतर्फको बन्दसूचीबाट नाम सिफारिस गर्न तीन दिनको समय दिइनेछ।

दलहरूले पठाएको सूची आयोगले पुनः परीक्षण गरी आवश्यक प्रक्रिया पूरा गरेपछि समानुपातिकतर्फबाट निर्वाचित हुने ११० जना सांसदलाई निर्वाचन आयोगले औपचारिक रूपमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नेछ।