रास्वपा सांसद तामाङ कर्जा सूचना केन्द्रको कालोसूचीमा

एक महिना अगाडि
रास्वपा सांसद तामाङ कर्जा सूचना केन्द्रको कालोसूचीमा

उदयपुर–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सूर्यबहादुर तामाङ कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको तथ्य सार्वजनिक भएको छ। निर्वाचन परिणाम सार्वजनिक भएसँगै उनको नाम सम्बन्धित अभिलेखमा रहेको विवरण बाहिर आएको हो।

कर्जा सूचना केन्द्रका अनुसार तामाङ संलग्न ‘मकालु कान्जिरुवा अटो लिंक प्रालि’ नामक कम्पनी चेक बाउन्स प्रकरणका कारण कालोसूचीमा परेको छ। उक्त सूचीमा कम्पनीको नाम १,०१,५१४ नम्बरमा रहेको बताइएको छ। कम्पनीका सञ्चालक सूर्यबहादुर तामाङ र लीला राई रहेको अभिलेखमा उल्लेख छ।

तामाङले प्रतिनिधिसभा निर्वाचनमा १४ हजार ८०२ मत प्राप्त गर्दै विजय हासिल गरेका थिए। यसअघि धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साहको उम्मेदवारी पनि कालोसूचीमा रहेको कारण खारेज भएको थियो। उक्त निर्णयविरुद्ध उनले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् र अदालतले निर्वाचन आयोगलाई फाइलसहित उपस्थित हुन निर्देशन दिएको छ।