बागमतीमा मन्त्रालय घटाएर ८ मा सीमित गर्ने प्रस्ताव

एक महिना अगाडि
बागमतीमा मन्त्रालय घटाएर ८ मा सीमित गर्ने प्रस्ताव

बागमती प्रदेश सरकारको प्रशासनिक संरचना थप चुस्त र प्रभावकारी बनाउन मन्त्रालयको संख्या घटाउने प्रस्ताव गरिएको छ। प्रदेश प्रशासनिक पुनर्संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित जम्मा ८ वटा मन्त्रालय मात्रै कायम गर्न सुझाव दिइएको छ।

प्रतिवेदनमा प्रदेश सरकारअन्तर्गत रहेका ७०१ कर्मचारी दरबन्दी कटौती गर्ने प्रस्तावसमेत राखिएको छ। साथै मन्त्रालयहरूको कार्यक्षेत्र स्पष्ट हुने गरी सात मन्त्रालयलाई पुनःविभाजन गर्ने योजना पनि प्रस्तुत गरिएको छ।

पूर्वसचिव विमल वाग्ले संयोजक रहेको अध्ययन टोलीले करिब तीन महिनासम्म अध्ययन गरेर प्रतिवेदन तयार पारेको हो। उक्त प्रतिवेदन टोलीले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई हस्तान्तरण गरेको छ। सरकारको संरचना कम खर्चिलो र कार्यकुशल बनाउने उद्देश्यले यस्तो सिफारिस गरिएको बताइएको छ।