काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाली सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ। आज नेप्से परिसूचक २३ दशमलव ८७ अंकले बढेर २ हजार ८२० अंकमा पुगेको छ।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। बुधबार १३ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज १४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ।
आज कुल १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७७ कम्पनीको घटेको छ। ९ कम्पनीको मूल्य भने स्थिर रहेको छ।
चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। ती कम्पनीहरूमा साल्पा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर र होटल फरेस्ट इन रहेका छन्। होटल फरेस्ट इनको सेयर आजैबाट कारोबार सुरु भएको हो।
त्यसैगरी दरामखोला हाइड्रोपावरको सेयर मूल्य ९.४६ प्रतिशतले बढ्दा हिमाल दोलखा हाइड्रोपावरको मूल्य ७.१४ प्रतिशतले उकालो लागेको छ। आज सबैभन्दा बढी कारोबार हुने कम्पनीहरूमा नेसनल हाइड्रोपावर, एचआईडीसीएल प्रोमोटर, कुमारी बैंक, हिमाल दोलखा हाइड्रोपावर र बलेफी हाइड्रोपावर रहेका छन्।