सहिद स्मारक एन्फा महिला लिगको खेल तालिका सार्वजनिक

एक महिना अगाडि
सहिद स्मारक एन्फा महिला लिगको खेल तालिका सार्वजनिक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक एन्फा महिला लिगको खेल तालिका सार्वजनिक गरेको छ। बिहीबार सार्वजनिक गरिएको तालिकाअनुसार प्रतियोगिताका सबै खेल ललितपुरस्थित च्यासल रंगशालामा सञ्चालन हुनेछन्।

लिग प्रतियोगिता चैत ४ गतेदेखि सुरु हुने भएको छ। उद्घाटन खेलमा न्यु रोड टिम (एनआरटी) र संकटा एफसीबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल बिहान ११ बजे सुरु हुनेछ। सोही दिन दिउँसो ३ बजे झापा एफसी र त्रिभुवन आर्मी फुटबल क्लबबीच अर्को खेल हुनेछ।

यसपटक लिगमा कुल १० टोली सहभागी हुनेछन्। गत वर्ष दोस्रो चरणमा पुगेका ५ टोलीमध्ये ४ टोली र छनोट प्रतियोगिताबाट आएका ६ टोलीले लिगमा स्थान बनाएका हुन्। गत वर्षका शीर्ष टोलीहरू स्वतः लिगका लागि छनोट भएका थिए।

एपिएफ एफसी, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती युवा क्लब र वालिङ नगरपालिका गत वर्ष दोस्रो चरणमा पुगेका थिए। तर आर्थिक कारण देखाउँदै वालिङ नगरपालिकाले यसपटकको प्रतियोगिताबाट नाम फिर्ता लिएको जनाइएको छ।