काठमाडौँमा बंगलादेशी फिस फेस्टिभल

१ हप्ता अगाडि
काठमाडौँमा बंगलादेशी फिस फेस्टिभल

काठमाडौँ । बंगलादेशले काठमाडौंमा माछा कुटनीतिको अभ्यास गरेको छ । काठमाडौँस्थित बंगलादेश दूतावासले आज आफ्नै कार्यालय परिसरमा ‘बंगलादेश फिस फेस्टिभल–२०२५’ मार्फत माछालाई केवल भोजनका रूपमा मात्र नभई सांस्कृतिक र आर्थिक सम्बन्ध जोड्ने शक्तिशाली माध्यमका रूपमा प्रस्तुत गरेको छ ।

कार्यक्रममा विभिन्न देशका राजदूत, मिसन प्रमुखहरू, कूटनीतिज्ञहरू, नेपाल सरकारका उच्च अधिकारीहरू, निजी क्षेत्रका व्यवसायी, होटल तथा पर्यटन क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीलगायत झण्डै १५० जनाको उपस्थिति थियो। कार्यक्रमका परराष्ट्रमन्त्रालयका कार्यबाहक सचिव कृष्णप्रसाद ढकाल सहभागी भएका थिए।

कार्यक्रममा कार्यबाहक सचिव ढकालले फेस्टिभललाई नवीन, उपयोगी र दुई देशबीचको सांस्कृतिक तथा आर्थिक सहकार्य बलियो बनाउन सहायक रहनेभन्दै प्रशंसा गरे। उनका अनुसार, नेपाल–बंगलादेशबीच व्यापार, पारवहन, ऊर्जा तथा लगानीका क्षेत्रमा तीव्र सहकार्य भइरहेको छ र भविष्यमा जलकृषि, मत्स्यपालन तथा खाद्य सुरक्षाका क्षेत्रमा थप साझेदारीको ठूलो सम्भावना छ।

नेपालका लागि बंगलादेशका राजदूत मोहमद शफिकुर रहमानले सहभागीहरुलाई स्वागत गर्दै नेपाल र बंगलादेशबिचको सम्बन्धलाई ‘माछा–दाल–भात’को संज्ञा दिए । उनले बंगलादेशको पहिचानमा ‘माछा भात बांगाली’को भूमिका उल्लेख गर्दै यसलाई नेपाली दाल–भातसँग जोडेर दुवै देशको सांस्कृतिक नजिकताको प्रतीकका रूपमा प्रस्तुत गरे। उनका अनुसार, यो फेस्टिभलले सांस्कृतिक आदान–प्रदानसँगै क्षेत्रीय व्यापारिक साझेदारी र आर्थिक समन्वय बढाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ।

दूतावासका अनुसार, नेपालमा गुणस्तरीय समुद्री उत्पादनको माग तीव्र रूपमा बढ्दै गएको छ। फेस्टिभलले बंगलादेशका निर्यातयोग्य माछा तथा समुद्री खाद्य उत्पादनहरू नेपाली बजारमा परिचित गराउने उद्देश्य बोकेको थियो। मत्स्यपालन, जलकृषि, दिगो माछा उत्पादन तथा प्रशोधनमा बंगलादेशले छोटो समयमा उल्लेखनीय प्रगति गर्दै विश्वस्तरमै स्थापित हुँदै गएको छ, जसले दुवै देशबीच व्यवसायिक सहकार्य विस्तार गर्ने विश्वास व्यक्त गरिएको थियो।

कार्यक्रममा अतिथिलाई बंगलादेशका परम्परागत तथा फ्युजन शैलीमा तयार गरिएका विविध व्यञ्जनहरू खुवाइएको थियो।