हर्मुज मार्ग अवरुद्ध हुँदा कच्चा तेलको मूल्य फेरि १०० डलर माथि

एक महिना अगाडि
हर्मुज मार्ग अवरुद्ध हुँदा कच्चा तेलको मूल्य फेरि १०० डलर माथि

इरानले हर्मुज सामुद्रिक मार्गमा नियन्त्रण कायम राखेपछि विश्व बजारमा कच्चा तेलको मूल्य फेरि १०० अमेरिकी डलर नाघेको छ। अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य आज १०० डलरभन्दा माथि पुगेको हो।

यसअघि सोमबार तेलको मूल्य बढेर अधिकतम १२० डलरसम्म पुगेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध चाँडै अन्त्य हुने संकेत दिएपछि मंगलबार मूल्य केही घटेको थियो। तर बुधबारदेखि फेरि तेलको भाउ बढ्न थालेको छ।

इरानले हर्मुजको सामुद्रिक घाँटीमा नियन्त्रण कायम राख्दै त्यहाँबाट कुनै पनि जहाज बाहिर जान नदिएको दाबी गरेको छ। यस क्षेत्रबाट यात्रा गर्ने क्रममा थाइल्यान्ड र जापानका जहाजसहित कम्तीमा ६ वटा जहाज आक्रमणमा परिसकेका छन्।

इरानले हर्मुजबाट एक लिटर तेल पनि बाहिर जान नदिने चेतावनी दिएको छ र ठूलो संख्यामा ड्रोन तथा युद्ध डुङ्गा परिचालन गरेको बताइएको छ। विश्वको करिब २० प्रतिशत तेल र ग्यास यही मार्ग हुँदै ओसारिन्छ, जसले गर्दा विश्व बजारमा ऊर्जा आपूर्तिमा गम्भीर असर पर्ने आशंका गरिएको छ।

यसैबीच अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले सदस्य राष्ट्रहरूको रणनीतिक भण्डारबाट ४ सय मिलियन ब्यारेल तेल बजारमा पठाउने निर्णय गरेको छ। यो संस्थाको इतिहासमै सबैभन्दा ठूलो भण्डार खुला गर्ने कदम मानिएको छ। तर यो निर्णयले पनि हालसम्म तेलको मूल्यमा उल्लेख्य गिरावट ल्याउन सकेको छैन।